वीरगन्ज,१९जेष्ठ :वीरगन्जमा यही जेठ २६ र २७ गते रात्रि बजार लगाउने गरि तयारी अघि बढाइएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार संचालन गर्ने पूर्व घोषित कार्यक्रम अनुरुप यस महिना पनि रात्रि बजार लगाउने तयारी अघि बढाइएको हो ।
रात्रि बजार संचालनको तयारीका लागि शुक्रबार महानगरमा सरोकारवालाहरुबीच छलफल भएको छ । छलफलले यस पटक पनि आदर्शनगर क्षेत्रमा रात्रि बजार प्रभावकारी रुपमा संचालन गर्न आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ ।
वीरगन्जको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई अहिले महिनाको अन्तिम शुक्रबार र शनिबार गरि २ दिन संचालन गरिँदै आएको छ ।
रात्रि बजार व्यवस्थापन समितिको शुक्रबारको बैठकले रात्रि बजार प्रभावकारी भएको भन्दै आउँदा दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने निर्णय पनि गरेको छ ।
बैठकमा महानगरका मेयर राजेशमान सिंहले आउँदा दिनमा घण्टाघरदेखि आदर्शनगर, घडिअर्वा लगायतका क्षेत्रलाई समेटेर रात्रि बजारलाई विस्तार गर्दै लैजाने गरि आवश्यक तयारी अघि बढाउन समितिलाई आग्रह गरेका छन् ।
वीरगन्जको बजार अवेर सम्म संचालन हुने वातावरण बनाउन आफूले रात्रि बजारको अवधारणा अघि बढाएको भन्दै उनले यसका लागि यहाँका उद्योगी, व्यवसायी तथा स्थानीय नै अघि सर्नु पर्ने बताए ।
मेयर सिंहले रात्रि बजार व्यवसाय चलायमान बनाउनका लागि पहल थालिएको भन्दै यसलाई निरन्तरता दिन अब यसको नेतृत्व वीरगञ्ज उद्योग वाणिज्य संघले लिनु पर्ने पनि बताए । अहिले महिनामा २ दिन मात्रै चलिरहेको रात्रि बजारलाई आफूले हरेक दिन देख्न चाहेको भन्दै त्यस अनुरासको सुरक्षा व्यवस्था र भन्सार खुला गर्ने जिम्मेवारी लिन आफू तयार रहेको पनि उनले बताए ।
बैठकमा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवालले महानगरले यहाँको बजार चलायमान बनाउन गरेको प्रयास सह्रानीय रहेको भन्दै आउँदा दिनमा यसलाई संचालन गरेर अघि बढ्नु पर्ने जिम्मेवारी आफूहरुको रहेको धारणा व्यक्त गरे ।
रात्रिबजारमा थरिथरिका स्टल राखिने र विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य जयप्रकाश खेतानले जानकारी दिए ।
The post वीरगन्जमा जेठ २६ र २७ गते फेरि रात्रि बजार appeared first on Madhes Khabar.
प्रतिक्रिया