मधेसखबर
वीरगन्ज,१८असार : प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तागठबन्धन दलका शीर्ष नेताहरुले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल जरी पनि बनेरै छाड्ने बताएका छन् ।
शनिबार निजगढ स्थित प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थलको निरिक्षणमा पुगेका प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरुले यो कुरा बताएका हुन् ।
निजगढमा प्रस्ताव अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको हवाइ निरिक्षण गरेपछि सन्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको र त्यो निजगढमै बन्ने बताए । प्रम देउवाले भने ,‘ निजगढमै वनको कम क्षति हुने गरि तत्कालका लागि दुइ वटा रनवे सहित विमानस्थल बनाउँछौं ,यसका लागि विज्ञहरुसँग छलफल गरिरहेका छौं , जसरी पनि विमानस्थल निजगढमै निर्माण गर्छौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्ने दाबी गरे । सर्वोच्च अदालतबाट निजगढमा विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको उनले बताए । प्रचण्डले भने ,‘सर्वोच्चबाट विमानस्थलको काम रोक्ने कुनै आदेश छैन , विमानस्थल बन्छ,। निजगढ विमानस्थल राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो ’ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउनुपर्नेमा जोड दिए । उनले विमानस्थल बनाउन अदालतबाट पनि बाटो खुलेको बताए ।नेपालले ’अदालतको फैसलाको पूर्णपाठ आएपछि यसको लागि बाटो खुला भएको छ , प्राकृतिक स्रोत साधनको कम क्षतिसहित विमानस्थल बनाउनुपर्छ ।’
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भविष्यलाई समेत हेरेर विमानस्थल निर्माण गरिनुपर्ने बताए । निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर विमानस्थल निर्माणको काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
शनिवार निजगढ विमानस्थलको निरिक्षणमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि पुगेका थिए । शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गरेका थिए ।साभार : कान्तिपुर
The post निजगढ पुगेका प्रधानमन्त्री सहितका शीर्ष नेताहरुले भने : अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ appeared first on Madhes Khabar.
प्रतिक्रिया