वीरगन्ज ,१४जेष्ठ : भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२३ को उपाधिका लागि आज आइतबार चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् ।
यी दुईबीचकाे फाइनल खेल नेपाली समय अनुसार बेलुकी पाैने ८ बजे गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु हुनेछ ।
चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् ।
विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ ।
जारी आइपिएलमा चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हाे । गुजरातले भने दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसंगकाे भेट पक्का गरेको हो ।
गुजरातका युवा ओपनर शुभमन गिल र चेन्नईका ऋतुराज गायकवाड दुबै टोलीका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटर उच्च लयमा छन् । गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा छन् । गिलले पछिल्ला चार इनिङमा तीन शतक हानेका छन् ।
यता चेन्नईका डेभन कन्वे र ऋतुराज गायकवाडले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कन्वेले ६ सय २५ र गायकवाडले ५ सय ६४ रन बनाएका छन् । गुजरातमा युवा ब्याटर साई सुदर्शनले तेस्रो नम्बरमा खेल्दै राम्रो प्रभाव छाड्दै आएका छन् । चेन्नईमा अजिंक्या रहाणे फरक शैलीमा प्रस्तुत हुँदै आएका छन् ।
आइपिएलमा चेन्नई र गुजरातबीच अहिलेसम्म चार खेल भएकाेमा चेन्नई एक र गुजरात तीन खेलमा विजयी भएकाे छ ।
The post आइपिएल उपाधिका लागि आज चेन्नई र गुजरात भिड्दै appeared first on Madhes Khabar.
प्रतिक्रिया