काठमाडौं , १३ बैशाख : जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले बाराको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ताको आडमा आफना उम्मेदवारलाई हराइएको आरोप लगाएका छन् ।
बारा २ लगाउत ३ वटै निर्वाचन क्षेत्रमा उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको गृहमन्त्रीको दावीप्रति आपत्ति जनाउदै राउतले बारा २ मा सत्ताको आडामा जनमत पार्टीका उम्मेदवारलाई हराइएको आरोप लगाएका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार सम्पन्न बारा–२ सहित देशका अन्य दुई क्षेत्रमा भएको उपनिर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताएपछि जनमतका अध्यक्ष डा. राउतले त्यसप्रति आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा सून्य समयमा बोल्दै जनमतका अध्यक्ष डाक्टर राउतले पाँच दलीय गठबन्धनको सरकारले सत्ताको लाठी र बन्दूकको बलमा गराएको निर्वाचनलाई शान्तिपूर्ण भन्न नमिल्ने बताए । उनले मतदानका क्रममा व्यापक आचारसंहिताको उलंघन भएपनि कुनै कारवाही नभएको आरोप लगाउँदै आफूसमेतलाई प्रहरीले घेराबन्दीमा राखेको बताए ।
‘गृहमन्त्रीज्यूले भर्खरै उपनिर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको बताउनुभयो । तर म सोध्न चाहन्छु, सत्ताको लाठी र बन्दूकको बलमा सत्ता गठबन्धन इत्तरका कार्यकर्ताहरुलाई घरबाट बाहिरपनि निस्किन दिइँदैन । प्रचारप्रसार गर्न दिइँदैन । जहाँ नक्कली मतपत्र छ्यापछ्याप्ती बुथ बाहिर भेटिएका छन् । नक्कली मतपत्र खसाल्ने क्रममा त्यहाँ मान्छे पक्राउ पनि परेको छ । पैसा बाड्ने क्रममा मान्छे पक्राउ परेको छ । त्यो ठाउँमा कस्तो खालको शान्तिपूर्ण निर्वाचन?’ डा. राउतले प्रश्न गरे ।
राउतले निर्वाचन अनुगमनमा जाने क्रममा आफूलाईसमेत प्रहरीले पक्राउ गरेर राखेको गरेको आरोप लगाउँदै भने, ‘म आफैपनि कब्जा भएका बुथहरुमा निर्वाचन आयोगको लिखित अनुमति लिएर जाँदा प्रहरीले मलाई समेत पक्राउ गरेको छ । यस्तो अवस्थामा उहाँले कस्तो शान्तिपूर्ण निर्वाचन गराउनु भएको छ ? म प्रश्न गर्न चहान्छु ।’
आइतबार सम्पन्न बारा–२ को उपनिर्वाचनको बुधबार बिहान अनितिम मतपरिणाम आउँदा जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले जनमत पार्टीकै उम्मेदवार शिवचन्द्र कुशवाहलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै जितेका हुन् ।
The post बारा २ मा सत्ताको बन्दूकको बलमा चुनाव गराइएको सिके राउतको आरोप appeared first on Madhes Khabar.
प्रतिक्रिया