वीरगञ्ज, १९ वैशाख । सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका साझा उम्मेदवारलाई विजयी बनाउन जसपा र कांग्रेसले घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार राजेशमान सिँह र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार इम्तियाज आलमलाई जिताउन नियमित रुपमा ५ दलका नेता कार्यकर्ताहरुले घरदैलो गरीरहेका छन् ।
सोही क्रममा आइतवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिरसियाका वडाबासीसँग छलफल तथा भेटघाट गरिएको छ । भेटभाटमा जसपा र कांग्रेसका दिग्गज नेताहरुको उपस्थिति रहेको थियो ।
गठबन्धनलाई कांग्रेस पर्साको एउटा ठूलो समूहले समर्थन नगर्ने चर्चा चलिरहेको बेला पार्टीभित्र रहेका दुवै समूहले गठबन्धनका साझा उम्मेदवारहरुका लागि भोट माग्न थालेका छन् । शनिबार मात्रै कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, १० र ११ का कार्यकर्ताहरुको सहभागितामा ठूलो जुलुस निकालेका थिए ।
चौरसिया एक ठाउँमा जुलुस निकाली रहँदा कांग्रेस पर्साका प्रभावशाली नेता एवं संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य वीरगञ्जका मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयर उम्मेदवार इम्तियाज आलमसँग वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा घरदैलो गरिरहेका थिए ।
चौरसिया र अमात्य कांग्रेस पर्सामा रहेको दूइ समूहको नेतृत्व गर्छन । तर अहिले कांग्रेसको दुवै समूहले आपसी मतभेदलाई अन्त्य गर्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन कसरत गरिरहेका छन् ।
गठबन्धनलाई विजयी बनाउने सिरसियाका वडाबासी पनि सकारात्मक छन् । सिंहले पनि स्थानीयसँग गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।
उपमेयरका उम्मेदवार आलमले वडाबासीले पूर्ण रुपमा गठबन्धनलाई नै साथ दिने विश्वास व्यक्त गरेका छन् ।
घरदैलोमा जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, जसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया