मधेसखबर
वीरगन्ज,०९ जेठ :स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पर्सा जिल्लामा नेकपा माओवादी केन्द्रको अस्तित्व संकटमा परेको छ ।पर्साको १४ पालिका मध्ये १३ पालिकाको अन्तिम परिणाम आइसक्दा माओवादी केन्द्रले एउटा पनि पालिाकाको प्रमुख वा उप्रमुख जित्न सकेन ।
मतगणना जारी रहेको वीरगन्ज महानगरमा भने प्रमुख वा उप्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार नै छैनन् ।
अन्तिम नतीजा आइसकेका जिल्लाका १३ पालिका मध्ये माओवादी केन्द्रले एउटा पनि पालिका जित्न सकेको छैनन् ।
माओवादी केन्द्रले अहिले सम्म १ सय १२ वटा वडा मध्ये २ वटा वडामा मात्रै जित हात पारेको छ ।
ठोरी गाँउपालिकाको वडा नम्बर ५ र बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ५ को वडाअध्यक्षमा माओवादी केन्द्रले जितेको हो ।
यसअघिको २०७४ को निर्वाचनमा पर्सा जिल्लामा ३ वटा पालिका जितेको माओवादी केन्द्र ,यसपालीको निर्वाचनमा भने १४ मध्ये एउटा पनि पालिका जित्न नसक्दा उसको अस्तित्व नै संकटमा परेको हो ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पर्साको ठोरी, जगरनाथपुर र छिपहरमाई गाउँपालिका जितेको थियो ।
गत निर्वाचनमा ठोरी गाँउपालिकाको अध्यक्ष, उपाध्यक्षसँगै ५ मध्ये ४ वडाअध्यक्ष जितेको माओवादी केन्द्रले यसपटक ठोरी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष मात्रै जितेको छ । अध्यक्ष , उपाध्यक्ष र बाँकी ४ वटा वडाको वडाअध्यक्ष गरि सबै पदमा माओवादी केन्द्र पराजित भएको छ ।
२०७४ को निर्वाचनमा छिपहरमाइ गाँउपालिकामा पनि अध्यक्ष, उपाध्यक्षसँगै ३ वडाअध्यक्ष जितेको माओवादी केन्द्र यसपाली भने त्यहा शुन्य भएको छ ।
२०७४को निर्वाचनमा जगरनाथपुर गाँउपालिकामा पनि माओवादी केन्द्रले अध्यक्ष सहित १ वडा अध्यक्ष जितेको थियो । तर यसपाली जगरनाथपुर गाँउपालिकामा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् ।
यस्तै २०७४ को निर्वाचनमा वीरगन्ज महानगरपालिकाका ३२ वटा वडामध्ये वडा नम्बर २० मा मात्रै जितेको माओवादी केन्द्रले यसपटक त्यहा पनि पराजय भोग्नुपरेको छ ।्
गत निर्वाचनमा माओवादीबाटै बिजयी भएका अधिकांश जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि यसपालीको निर्वाचनमा पर्सा जिल्लामा माओवादी केन्द्र कमजोर भएको हो ।
माओवादी केन्द्रका पर्साका अध्यक्ष रामदरश कुशवाहाले जिल्लामा पार्टी झनै कमजोर बनेको स्वीकार गर्दै पार्टी भित्रको आन्तरीक किचलो र विवादका कारण पराजित हुनु परेको बताएका छन् । पार्टीकै नेताहरुको अन्तरघात र खर्चिलो चचुनावका कारण नतिजा माओवादीको पक्षमा आउन नसकेको कुशवाहाको भनाई छ ।
The post चुनावी नतीजाले पर्सामा माओवादीको अस्तित्व संकटमा appeared first on Madhes Khabar.
प्रतिक्रिया