बैशाख १० मा तीन वटा निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्य चुन्नका लागि उपनिर्वाचन हुदैछ । बारा २ , तनहुँ १ र चितवन २ मा । यी मध्ये बारा २ मा पनि देशभरकै चासो देखिएको छ ।कारण यो क्षेत्र जितेर मधेसमा राजनीतिक बर्चस्व कायम राख्ने कोशीशमा छन् जसपा र जनमत पार्टीका शीर्ष नेताहरु । बारा २ मा दलगत र स्वतन्त्र गरि ३६ जना उम्मेदवार छन् । ती मध्ये बढि चर्चामा छन् पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव । जसपा अध्यक्ष एंव उम्मेदवार उपेन्द्र यादवसंग बुधबार गरिएको संक्षिप्त कुराकानी :
चुनावी प्रचारका क्रममा जनताको घरदैलोमा पुगि रहदा माहौल कस्तो पाउनु भएको छ ?
जनतामा अत्यन्त उत्साह र उमंग रहेको पाएको छु । जनताले मधेसको हकअधिकार र पहिचान दिलाउनेलाई राम्ररी चिनेका छन् । त्यसका कारण चुनावी घरदैलोमा जनता आफै मेरो लागि मत माग्दै हिडेका पनि छन् । यसले मेरो जित सहज छ भन्ने आत्मविश्वास बढाउदै लगेको छ ।
बारा २ मा चुनावी प्रचार प्रसार सुरु नहुदै जातीवादको नारा उचालिएको थियो , अहिले अवस्था के छ ?
चुनावी माहोल सुरु भएलगत्तै बारा २ मा जातिवादको जहर घोल्ने , एउटा जातलाई लडाएर अर्को जाति विरुद्ध लडाएर आफनो दुनो सोझाउने षडयन्त्र गरिरहेका थिए ।जाली झेलीहरुले भ्रम फैलाइरहेका थिए , तर अहिले जातीवादको त्यो नारा हराउदै गएको छ ।
बारा २ का जनतामाझ मत माग्ना जाँदा तपाईका मुख्य एजेन्डाहरु के के हुन् ?
संघीयता र समावेशीताको रक्षासंगै सुशासन , विकास र समृद्धि नै हाम्रा मुख्य एजेन्डा हुन् । यीनै एजेन्डाहरु लिएर म जनताको माझमा पुगिरहेको छु , जसका कारण जनता निक्कै उत्साहित पनि देखिएका छन् ।
बारा २ मा तपाइ त बाहिरिया उम्मेदवार हो भन्ने आरोप छ त ?
सुरु सुरुमा विपक्षीहरुले यो हावादारी कुरा गरेका थिए , तर अब त्यो हावादारी कुरा हावामै हरायएको छ । के म यो देशको नागरिक नै होइन त ? के म मधेसी होइन त ? मधेसमा मधेसको मान्छे पनि कहि बाहिरिया हुन्छ त ? कस्तो बुद्धि नभएका विपक्षीहरु परेका छन् । बारा २ का जनताले मलाई आत्मसात गरिसकेका छन् । मलाइ त विपक्षीहरुको बुद्धी देखेर दया पो लाग्दैछ । आफनै देशका नागरिकलाई बाहिरिया भन्नेहरुले के राजनीति गर्नु ? के देश र जनता बुझ्नु ?
एकदुई दिन यता विपक्षीहरुले तपाइमाथि अर्को आरोप पनि लगाइरहेका छन् कि हार्ने डरले उपेन्द्र यादवले आफना पार्टीका मुख्यमन्त्री , मन्त्री , सांसद लगायत देशभरका सम्पूर्ण शक्ति बारा २ मा उतारेका छन् ?
त्यो मनगणन्ते कुरा हो । त्यस्ता मनगणन्ते ,उडन्ते कुराहरु कुनै तुक छैन । मिडिया र सोसल मिडियामा जसलाई जे मन लाग्यो त्यहि लेख्ने र लेख्न लगाइरहेका छन् । बारा २ का जनता र पाँच दलका नेता कार्यकर्ता मेरो साथमा छन् । त्यसका कारण त्यस्ता मनगणन्ते कुराले मलाई कुनै फरक पर्दैन ।
केहि मिडियामा अहिले बारा २ को निर्वाचनको नतीजाको पुर्वानुमान गरेर सर्वेक्षणका रिपोर्टहरु आएका छन् । त्यसमा तपाई जनमत पार्टीको उम्मेदवार पहिलो स्थनमा र तपाई दोश्रो स्थानमा हुनुहुन्छ भन्ने उल्लेखछ । ती सर्वेक्षणको रिपोर्टबाट तपाइ सहमत हुनुहुन्छ त ?
त्यो प्रायोजित र हावादारी हो, त्यो बिल्कुल गलत छ । त्यो पनि विपक्षीहरुको भ्रामक प्रचारबाजी मात्रै हो । जातिवादको नारा फैलाए जस्तै त्यो सर्वेक्षण पनि विपक्षीहरुको इशारामा ल्याइएको हो । त्यसकारण म र बारा २ का जनता त्यसबाट भ्रमीत छैनौं ।
The post मिडियामा आएको मत सर्वेक्षण प्रायोजित र हावादारी हो : उपेन्द्र यादव appeared first on Madhes Khabar.
प्रतिक्रिया