मधेसखबर
वीरगन्ज,८बैशाख : बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनलाई मध्यनजर गरि भारतसंग जोडिएका बारा जिल्लाका सीमानाका तीन दिन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी आज (शुक्रबार) राति १२ बजेदेखि बैशाख १० गते आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
यस्तै, मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा पनि रोक लगाइएको सापकोटाले बताए । बारा क्षेत्र नम्बर २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूर्ण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन पनि बन्द गरिने प्रजिअ सापकोटाले जानकारी दिए ।
बारा २ मा हुन गइरहेको उपनिर्वाचनलाई नै मध्यनजर गरि छिमेकी पर्सा जिल्लासंग जोडिएका भारतीय सीमा नाकामा पनि तीनदिन कडा निगरानी गरिने भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सासंग जोडिएका भारतीय सीमानाकामा आज रातिदेखि बैशाख १० गते आइतबार राति सम्म तीनदिन सुरक्षाकर्मीले कडा निगरानी राख्ने बताए । सीमा नाकामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले कडा निगरानी राख्दै चेकजाँचमा कडाई पनि गर्ने उनले बताए । तर पर्साका सीमानाका बाराको जस्तो बन्द भने नहुने उनले स्पष्ट पारे ।
The post बाराका सीमानाका तीन दिन बन्द हुदै , पर्साका सीमा नाकामा भने कडा निगरानी मात्रै appeared first on Madhes Khabar.
प्रतिक्रिया