वीरगन्ज ,१८चैत :साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे हाे।
गुजरातलाई जितको लागि अन्तिम १२ बलमा २३ रन चाहिँएको थियो । तीव्र गतिका बलर दीपक चाहरले १९ औं ओभरमा १५ रन खर्चिएपछि जितको सम्भावना टाढिएको थियो । १९ औं ओभरको दोस्रो बलमा लेग वाइको रुपमा चौका गएको थियो । चौथो बलमा राशिद खानले छक्का र पाँचौं बलमा चौका प्रहार गर्दै जित नजिक पुर्याए ।राहुल टेवाटियाले अन्तिम ओभरमा ८ रन चाहिँदा पहिलो बलमा तुषारदेश पाण्डेलाई छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै खेल सकाएका थिए ।
चेन्नईका तीव्र गतिका बलर राजवर्धन हांगरगेकरले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तुषार देशपाण्डे र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।
चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रनको सानदार इनिङ खेलेपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । ऋतुराज बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
चेन्नईले सोमबार लखउन सुपर जायन्ट्ससँग खेल्नेछ । गुजरातले बुधबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । आइपिएलमा शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा अपरान्ह पाैने ४ बजे मा पन्जाब सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । बेलुकी सवा ७ बजे लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स भिड्दैछन् ।
The post आइपिएलमा गुजरातकाे सानदार विजयी सुरुवात appeared first on Madhes Khabar.
प्रतिक्रिया