मधेसखबर
वीरगन्ज,१७ फागुन : वीरगन्जमा सडकका कुकुरहरु मारेको विरोधमा बुधबार पशुअधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।
सुमार्ग बिन्दु आमा फाउन्डेशनको अगुवाईमा पशुअधिकारकर्मीहरुले विरोध रयाली निकालेर प्रदर्शन गरेका हुन् ।
घण्टाघर चोकबाट शुरु विरोध रयाली माईस्थान , आदर्शनगर , अलखीया मठ , घडीअर्वा हुदै पुन घण्टघार चोकमै पुगेर समापन भएको थियो । विरोध रयाली पछि घण्टाघर चोकमै कार्यक्रम गरेर उनिहरुले मारिएका कुकुरहरुको तस्वीरमा फुलमाला चढाएर श्रद्धान्जली अर्पण पनि गरेका थिए ।
विरोध रयालीमा सहभागी पशुअधिकारकर्मीहरुले कुकुर मार्ने अभियान बन्द गर , कुकुर हाम्रो संरक्षक हो , निरिह कुकुरलाई मार्न पाइदैन , निरिह कुकुरलाई मार्नु कुनै पुरुषार्थ होइन , निरिह कुकरलाई मार्नु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।
डेढ दुई महिना यता वीरगन्ज महानगरमा सडकका कुकुरहरु मार्ने अभियान नै चलाइएपछि त्यसको विरोधमा वीरगन्ज महानगरपालिका लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराउन बुधबार शान्तिपूर्ण विरोध रयाली निकालिएको सुमार्ग बिन्दु आमा फाउन्डेशनकी अध्यक्ष प्रतिभा कोइरालाले बताइन् ।
सडकका कुकुरहरु मार्ने अभियान वीरगन्ज महानगरले चलाएको आशंका भएपनि यसको पुष्टि भने भइनसकेको उनले बताइन् ।
कोइरालाले भनिन्,‘ सडकका सामुदायिक कुकुरहरु मार्ने कार्यमा वीरगन्ज महानगरकै हात छ , तर पुष्टि भने भइसकेको छैन किन कि यस बारेमा मेयर राजेशमान सिंहलाई जानकारी गराउदा उहाले कुकुर मार्ने अभियान महानगरले चलाएको छैन भनेर जवाफ दिनुभयो ।
तर सडकका कुकुरलाई विष खुवाएर मार्ने अनि मृत कुकुर ट्याक्टरमा संकलन गरेर लैजाने दृश्य देख्दा यसमा महानगरकै हात रहेको आशंका भएको उनले बताइन् ।महानगर क्षेत्रमा डेढ महिना यता १५० भन्दा बढि कुकुरलाई विष खुवाएर मारिएको कोइरालाले बताइन् ।
फागुन ८ गते राति ११ बजे तिर आफु मकालु होटल पुग्दा मुखमा मास्क लगाएर आएका ३÷४ जना अपरिचित व्याक्तिले विष खुवाएर मारिएका कुकुरहरु ट्याक्टरमा लिएर भागेको उनले बताइन् ।त्यसपछि त्यही बेला वीर्ताको गणेशमान चोक, ६ नम्बर गेट , घण्टाघर चोकमा पुग्दा पनि ८ वटा कुकुरलाई विष खुवाएर मारिएको अवस्थामा भेटिएको कोइरालाले बताइन् ।यसअघि माघको पहिलो साता पनि १ सयको हाराहारीमा कुकुरलाई विष खुवाएर मारिएको उनले दाबी गरिन् ।
सडकका निरिह कुकुर मार्नु समस्याको सामधान नभएको भन्दै उनले सडकका कुकुरहरुको व्यवस्थापनका लागि आफुले मेयर सिंहलाई पटक पटक भेटेर ध्यानाकर्षण गराएको उनले बताइन् । तर व्यवस्थापनको सट्टा विष खुवाएर निरिह कुकुरलाई मार्ने अभियान नै चलाईएपछि बाध्य भएर आफुहरु बुधबार देखि सडकमा उत्रिएको कोइरालाले बताइन् ।
उनले भनिन् , अब यो विरोध अभियान निरन्तर चल्छ , हामी महानगरका हरेक वडामा पुगेर सडकका कुकुर मार्न पाइदैन भनेर विरोध प्रदर्शन गर्छौ ।सडकका सामुदायिक कुकुरलाई बिष खुवाएर मार्नु गैरकानूनी काम भएकाले कुकुर मार्ने व्यक्ति वा संस्थाको खोजी गरी कारबाहीको दायरामा ल्याउनु पर्ने माग पनि उनको छ ।
कोइरालाका अनुसार , वीरगन्ज महानगरमा हाल १० हजार भन्दा बढि सडकका सामुदायिक कुकुर छन् । आफनो संस्थाले वीरगन्जमै गत बर्ष पशु विज्ञ केन्द्रको सहयोगमा १ हजार ५ सय वटा सामुदायिक कुकुरलाई एन्टी रेविज भ्याक्सिन लगाएको पनि उनले बताइन् ।
यता वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले भने सडकका कुकुर मार्ने अभियान महानगरपालिकाले नचलाएको बताए । उनले सडकका कुकुरहरुको बन्ध्याकरणका लागि महानगरपालिकाले पशुअधिकारको क्षेत्रमा काम गर्ने एक संस्थासंग सम्मझौता गरिसकेको जानकारी पनि दिए । सिंहले भने ,‘ मार्ने नै भए हामीले बन्ध्याकरणका लागि सम्झौता किन गथ्र्यौ र ? सिधै मारिहाल्थ्यौ नि ।
केहि दिन पनि पहिले मकालु होटल चोकमा ३÷४ वटा कुकुर आफै मरेकोे भेटिएपछि महानगरले कर्मचारी पठाएर सकंलन गर्दा केहि व्याक्तिले त्यसैको फोटो र भिडियो खिचेर भ्रम फैलाएको मेयर सिंहले बताए ।उनले महानागरले विष खुवाएर कुकुर मारेको भए त्यसको खोजीनिती र छानबिन गरेर प्रमाणीत गर्न चुनौती पनि दिए ।
The post वीरगन्जमा सडकका कुकुर मारेको विरोधमा प्रदर्शन appeared first on Madhes Khabar.
प्रतिक्रिया