मधेसखबर
वीरगन्ज,८चैत : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत मसान्त भित्रै गराउन माग गर्दै बुधबार विधार्थी नेताहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा विवादका कारण चैत ५ मा हुन नसकेको स्ववियु निर्वाचन क्याम्पस प्रशासनले आगामी जेठ १३ गते गर्ने निर्णय गरेको छ ।तर चुनावको पक्षधर रहेका विधार्थी संगठनका नेताहरुले स्थगित निर्वाचन यहि चैत मसान्त भित्र गराउन माग गर्दै बुधबार क्याम्पस परिसरमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
यसअघि मंगलबार बसेको चुनाव पक्षधर विधाार्थी संगठनहरुको बैठकले नेविसंघका तर्फबाट प्रत्याशी मुनराज तिवारीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । संघर्ष समितिमा नेविसंघसंगै लोकतान्त्रिक विधार्थी संघ, विधार्थी जनमत संघ , अनेरास्ववियु (क्रान्तिकारी), नागरिक विधार्थी समाज लगायतका संगठन र समुहको पनि प्रतिनिधत्व छ ।
उक्त संघर्ष समितिकै अगुवाइमा बुधबार विधार्थी नेताहरुले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी संघर्ष समितिका संयोजक तवारीले चैतमै निर्वाचन हुनु पर्ने माग राखेर बुधबार देखि संघर्ष समितिले आन्दोलन थालेको र पहिलो दिन टायर बालेर प्रदर्शन गरिएको बताए । यदि क्याम्पस प्रशासनले चैत मसान्त भित्र निनर्वाचन गराउन तत्काल प्रकृया नथाले अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले दिए ।
यहि माग राखेर संघर्ष समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो । यस्तै चैत २ गते क्याम्पसका विभिन्न शाखामा तालाबन्दी पनि गरेको थियो ।
संघर्ष समितिका संयोजक तिवारीले भने ,‘ त्रिविले चुनाव स्थगित र रोकिएका क्याम्पसहरुमा चैत भित्रै निर्वाचन गराउन लिखित निर्देशन पनि दिइसकेको छ तर ठाकुरराममा क्याम्पस प्रशासनले त्रिविको निर्देशन पनि अटेर गरिरहेको छ , क्याम्पस प्रशासनले नै चुनाव गराउन चाहिरहेको छैन ।
क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले भने चैत १२ देखि स्नातक संकायको चौथो वर्षको परिक्षा शुरु हुने र परिक्षा चैत महिनाभर चल्ने भएका कारण चैतमा निर्वाचन गराउन सम्भव नभएको बताउदै आएका छन् । त्यससमा पनि विधार्थी संगठनले नै क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेकाले यसले समस्या थप बढाएको उनको भनाई छ ।
उनि भन्छन्,‘ मतदाता नामावलीको विवाद यथावत नै छ , तालाबन्दी जारी नै छ , चैत १२ देखि परिक्षा पनि शुुरु हुदैछ , यो अवस्थामा चैतमा निर्वाचन गराउन समस्या देखिएकोले राजनीतिक दलहरुको सहमतिमै जेठ १३ का लागि मिति तोकिएको हो ।
The post स्ववियु निर्वाचन चैतमै हुनुपर्ने माग गर्दै ठाकुरराम क्याम्पसमा टायर बालेर प्रदर्शन appeared first on Madhes Khabar.
प्रतिक्रिया