काठमाडौं,८फागुन : भारत सरकारले दुई सय वटा मिर्गाैला डायलोसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले डायलोसिस मेसिन हस्तान्तरण गरेका हुन् । करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष डायलोसिस मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई डायलोसिस मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।
राजदूत श्रीवास्तवले भने, ‘करिब एक वर्षअघि नेपाल सरकारको तर्फबाट २ सय वटा मिर्गाैला डायलासिस मेसिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । त्यही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ। हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौँ । भारत नेपालको छिमेकी मात्रै नभइ विकास साझेदार राष्ट्रपति हो । नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ।’
भारतले कोरोना भाइरस सङ्क्रमणका बेला पनि १ सय ३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो।
The post भारतले नेपाललाई दियो २०० वटा डायलोसिस मेसिन appeared first on Madhes Khabar.
प्रतिक्रिया