कलैया,१ फागुन : बारा जिल्लामा यस वर्ष १ लाख २१ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष बारामा किसानले ७ हजार ४५० हेक्टरमा खालु खेती गरेकोमा प्रतिहेक्टर सवा १६ मेट्रिक टनका दरले आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
धेरै किसानले कम लगानीमा बढी फाइदा हुने नगदेबाली उखु खेती र माछापालन गर्दै आएको भएपनि बजारको समस्या भएपछि यस वर्ष जिल्लामा किसानहरु आलु खेतीतर्फ आकर्षित भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष आलु खेती गरिएको क्षेत्रफल ३० हेक्टरमा बढेको छ ।
यादवका अनुसार , बारामा गत आर्थिक वर्ष २०७८/७९ मा सात हजार ४२० हेक्टरमा आलु खेती गरिएकाृमा प्रतिहेक्टर १६ मेट्रिक टनका दरले कुल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको थियो ।
धान पाक्ने बेलामा वर्षा कम हुँदा समयमै आलु खेती भएकाले गत वर्षको तुलनामा यस वर्ष ३० हेक्टर बढी क्षेत्रफलमा खेती भए पनि आलु उत्पादनमा भने कमी आएको कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी रामजीवन ठाकुरले जानकारी दिए ।
अरू जातको तुलनामा शिवचालिस र लालमुनि जातको आलु बढी उत्पादन हुने भएकाले अधिकांश किसानले यी दुई जातको आलुको खेती गर्ने गरेका छन् । बारामा उत्पादित आलु कलैया बजारलगायत हाटबजारमा प्रतिकिलो २०–२५ रुपियाँमा बिक्री भइरहेको छ ।
बाराको उचिडिह, हरिहरपुर, गोलागञ्ज, अमृतगञ्ज, देवापुर, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वालगायतका ठाउँ आलु खेतीको पकेट क्षेत्र भए पनि प्रायः सबै क्षेत्रमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र बाराका बाली विकास अधिकृत राजनारायणप्रसाद साहले बताए ।
बजारमा अहिले प्रतिकेजी २०–२५ रुपियाँमा आलु बिक्री भइरहे पनि किसानबाट व्यापारीले १७–१८ रुपियाँमा खरिद गर्ने गरेको कलैया उपमहानगरपालिका–१३, धर्मनगर टोलका किसान वीरेन्द्र मण्डलले बताए ।
आलुको बीउ खरिद मूल्यको आधा भाउमा आलु बिक्री गर्नुपर्ने बाध्यता रहेको अर्का किसान अवधकिशोर महतोले बताए ।उनले भने ,‘ एक क्विन्टल बीउ आलु खरिद गर्दा तीन हजार छ सय रुपियाँ लाग्यो , तर फलेको आलु बजारमा अहिले व्यपारीलाई किलोको १७–१८ रुपियाँमा बेच्नु परिरहेको छ । साभारः गोरखापत्र
The post बजारमा आलुको उचित भाउ नपाएको बाराका किसानहरुको गुनासो appeared first on Madhes Khabar.
प्रतिक्रिया