मधेसखबर
वीरगन्ज,११ मंसिर : प्रत्यक्ष तर्फको मतगणना सकिएको तीन दिन पछि मात्रै पर्सा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएको आधिकारीक घोषणा गर्दै निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।
पर्सा ३ मा प्रत्यक्ष तर्फको मतगणना सकिएको झण्डै ३ तीन दिन पछि मात्रै निर्वाचन अधिकृतको कार्यालयले गुप्ता निर्वाचित भएको आधिकारिक घोषणा गर्दै प्रमाणत्रपत्र प्रदान गरेको हो ।आइतबार बिहान समानुपातिक तर्फको पनि मतगणना सकिएपछि मात्रै निर्वाचन अधिकृत योगनाथ ढकालले आधिकारीक घोषणा गर्दै गुप्तालाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
प्रत्यक्ष तर्फको मतगणना बुधबार राति नै सकिएको थियो । तर प्रत्यक्ष तर्फ खसेको २७२ वटा मतपत्र नभेटिएको र ती मतपत्र समानुपातिक तर्फको मतपेटिकामा हुन सक्ने भन्दै निर्वाचन अधिकृत ढकालले गुप्ता निर्वाचित भएको आधिकारीक घोषणा र प्रमाणपत्र समेत दिएका थिएनन् ।
जसका कारण गुप्ता निक्कै तनावमा थिए । यसका साथै २७२ मतपत्र नभेटिदा पर्सा ३ को नजिता उल्टिेने हो कि भन्ने आकलन पनि गर्न थालिएको थियो ।
यद्यपि बुधबार राति १० बजे तिर प्रत्यक्ष तर्फको मतगणना सकिए लगत्तै निर्वाचन आयोगको वेभसाइटमा भने एमालेका गुप्ता २४ हजार २६० .मतका साथ निर्वाचित भएको भनेर सार्वजनिक गरिसकिएको थियो । वेभसाइटमै गुप्ताका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र चौधरीले गुप्ता भन्दा १५१ मत मात्रै कम अर्थात २४ हजार १०९ मत पाएको उल्लेख गरिएको थियो । यो विवरण , लिखित रुपमै निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा आफनो छाप लगाएर निर्वाचन अधिकृत ढकालको हस्ताक्षर पनि गराएर टाँसेको पनि थियो ।
गत आइतबार मतदानका दिन पर्सा ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो ।प्रत्यक्ष तर्फको मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिएको थियो । यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको थियो ।
तर आइतबार बिहान साढे ६ बजे तिर समानुपातिक तर्फको पनि मतगणना सकिदा , प्रत्यक्ष तर्फको गणनामा कम भएको मध्ये १५५ मतपत्र , समानुपातिक तर्फको मतपेटिकामा भेटिएको हो ।
समानुपाति तर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको १५५ मतपत्र भेटिएकोमा ती मध्ये ५९ मत एमालेका गुप्ताले , काँग्रेसका चौधरीले ४३ मत र नेपाल सुशासन पार्टीका राज कुमार यादवले २२ मत पाएका छन् । बाँकी ३१ मत अन्य उम्मेदवारले पाएका छन् ।
यस अनुसार अब , पर्सा ३ मा निर्वाचित एमालेका गुप्ताले कूल २४ हजार ३१९ मतका साथ विजयी भएका छन् । , उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका चौधरीले २४ हजार १५२ मत र सुशासन पार्टीका यादवले १० हजार ५०३ मत पाएका छन् ।
निर्वाचन अधिकृत ढकालले मतदानका क्रममा केहि मतदाताले प्रत्यक्ष तर्फको मतपत्र , भूलवस समानुपातिक तर्फको मतपेटिकामा पनि खसाएको १५५ मतपत्र समानुपातिकको मतपेटिकामा भेटिएको बताए । यहि कारण प्रतिनिधीसभा सदस्यमा प्रत्यक्ष तर्फको मतगणना बुधबार राति सकिएपनि विजयी हुने उम्मेदवारको आधिकारीक घोषणा नगरिएको र प्रमाणपत्र पनि वितरण नगरि दुइ दिन रोकेर राखिएको बताए ।
यता आइतबार बिहान आधिकारीक रुपमा निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरे पछि निर्वाचित गुप्ताले भने जनताको मतले आफु निर्वाचित भइसक्दा पनि मतपत्र गायब भएको हौवा फैलाएर आफुलाई हराउने षडयन्त्र गरिएपनि त्यो षडयन्त्र विफल भएको प्रतिक्रिया दिए ।
उनले भने , बुधबार राति नै मतगणना सकिए लगत्तै निर्वाचन अधिकृत ढकालले नै माइकबाट आफु निर्वाचित भएको सार्वजनिक रुपमै घोषणा गरेका दाबी गरेका थिए , तर विपक्षीहरुले सत्ताको आडमा मलाई हराउन दुइ दिन सम्म अनेक प्रपन्च चरे पनि उनिहरु सफल भएनन् , सत्यको जित भएको छ , जनताको जित भएको छ ।उनले सत्ताधारीहरुको योजनामा निर्वाचन अधिकृतले नै आफुलाइ हराउने षडयन्त्र गरेको भएपनि उनको त्यो षडयन्त्र विफल भएको बताए ।
यता पराजित भएका काँग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाएका छन् । त्यसैकारण रि–काउन्टिङका लागि आफुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पनि दिइसकेको चौधरीले बताएका छन् ।
The post एमालेका गुप्ताले जितेको ३ दिन पछि पाए प्रमाणपत्र , भन्छन् : सत्यको जित भएरै छाड्यो appeared first on Madhes Khabar.
प्रतिक्रिया