मधेसखबर
वीरगन्ज,२१ असोज : जसपाले गठबन्धन भत्काउन लागेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । संविधानको रक्षाका लागि गठबन्धन बनेको र त्यो भत्काउँदा संघीयता र प्राप्त उपलब्धि माथि घात हुने प्रचण्डको सचिवालयले उल्लेख गरेको छ।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले लेखेकि छन् ,‘ अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्रविरोधी शक्तिहरु सिट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाई लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन्। तर गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो। केही असहमति हुनसक्छ। तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पूरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस् भन्ने हामी सबैको चाहना हो। यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन् भने त्यो लोकतन्त्र, संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ,’ ।
पाँच दलीय गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै बनेको दाहालले उल्लेख गरेकी छन्। ’सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई–दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे। तर लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरु जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौं,’ उनले लेखेकी छन्।
The post उपेन्द्र यादवलाइ प्रचण्ड सचिवालयको चेतावनी appeared first on Madhes Khabar.
प्रतिक्रिया