मधेसखबर
वीरगन्ज,३०असार : वीरगन्ज महानगरका सामुदायिक विधालयमा पनि विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा अनियमितता भएको भेटिएको छ ।
शिक्षक, स्थानीय तह र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले दिवा खाजाका लागि प्रति विद्यार्थी सरकारले दैनिक उपलब्ध गराउने १५ रुपैयाँमा पनि लोभ गरेका छन् । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा दिवा खाजा कार्यक्रममा मनोमानी र अनियमितता भएको उल्लेख छ ।
प्रतिवेदन अनुसार देशभरका १ सय ९२ स्थानीय तहले विद्यालय बन्द रहेको अवस्थामा पनि दिवा खाजा कार्यक्रमको ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेका छन् । यता वीरगन्ज महानगरपालिकाले पनि विद्यार्थी संख्या र हाजिरीको प्रमाणित अभिलेख बिना नै ८७ वटा सामुदायिक विद्यालयलाई १ करोड ३८ लाख ९८ हजार निकासा गरेको छ । महालेखाले उक्त रकम बैंकमा रोक्का रहेको अवस्थामा रहेकाले बढी रकम फिर्ता लिन महानगरपालिकालाइ भनेको छ ।
दिवा खाजा कार्यक्रम कार्यान्वयन पुस्तिकामा विद्यार्थी हाजिरीका आधारमा रकम खर्च गर्न पाउने व्यवस्था छ । कोभिड महामारीलगायत विविध कारण विद्यालय बन्द भएको दिनको रकमसमेत भुक्तानी गरेर मनमौजी हुने गरेको हो । गत वर्ष पनि स्थानीय तहले विद्यालय बिदा रहेको दिनमा पनि दिवा खाजाको रकम खर्च भएको महालेखाले औंल्याएको थियो ।
वार्षिक १ सय ८० दिनका लागि संघीय सरकारले अनुदानका रूपमा प्रतिविद्यार्थी १५ रुपैयाँको दरले बजेट स्थानीय तहमा पठाउँछ । महालेखाले विद्यार्थी हाजिर प्रमाणित अभिलेख झिकाई उक्त खर्चको यथार्थ यकिन गर्नुपर्ने समेत औंल्याएको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट प्रमाणित विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको संख्या यकिन गरी भुक्तानी दिनुपर्ने व्यवस्था निर्देशिकामा छ ।
The post वीरगन्जका सरकारी विद्यालयमा दिवा खाजामा १ करोड ३९ लाख अनियमितता appeared first on Madhes Khabar.
प्रतिक्रिया