मधेसखबर
वीरगन्ज,३१जेठ :विधुत आपुर्तिमा भइरहेको समस्याबाट आजित बनेका पर्सा बाराका उद्योगगीहरुले नेपाल विद्युत प्राधिकरण विरुद्ध आन्दोेलनको तयारी गरेका छन् ।
विद्युत् आपूर्तिमा बारम्बार दोहोरिने समस्याले आजित बनेका बारा–पर्साका उद्योगहरुले विद्युत प्राधिकरण विरुद्ध आन्दोलन गर्ने तयारी गरेका हुन् । पटक पटक आग्रह गर्दा पनि विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा सुधार गर्न चासो नसलएका कारण अब आन्दोलन नै गर्ने तयारीमा पुगेको उद्योगीहरुले बताएका छन् ।
विद्युत प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका यहाका ठूला उद्योगहरुमा ३ दिन देखि आपूर्ति नियमित नभएको उद्योगीहरूले बताएका छन् । यो प्रसारण लाइनबाट विद्युत् उपयोग गरेका वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका करिब आधा दर्जन उद्योगहरुको उत्पादन नै प्रभावित भएको छ ।विद्युत प्राधिकरणले नियमित रुपमा विद्युत नदिएपछि उत्पादन गर्न नसकिएको एक उद्यागीले बताए । यो प्रसारण लाइनबाट धेरै ऊर्जा खपत गर्ने फलाम उद्योगहरूले आपूर्ति लिएका छन् ।
विगत डेढ महीना देखि विद्युत आपुर्तिमा भइरहेको समस्या झेलिरहेका उद्योगीहरूले प्राधिकरण विरुद्ध आक्रोश पोख्न थालेका छन् । ‘प्राधिकरणको कमजोर पूर्वाधारका कारण ६६ केभीबाट आपूर्ति लिन आफ्नै खर्चमा सबस्टेसन बनाएका उद्योगले आपूर्ति समेत नियमित रुपमा पाएका छैनन्,’ एक उद्योगीले भने, ‘भारतलाई बिद्युत् बेचिरहेको प्राधिकरणले स्वदेशका उद्योगलाई ठिक तरिकाले आपूर्ति दिन नसक्नु लज्जाको विषय हो ।
बढी विद्युत् खपत गर्ने ठूला उद्योगलाई विद्युत प्राधिकरणले ६६ केभी भन्दा ठूला प्रसारण लाइनबाट विद्युत दिने गरेको छ । प्रसारण लाइनबाट उद्योगसम्म विद्युत् पुर्याउन चाहिने आवश्यक सबै पूर्वाधार उद्योगले नै तयार गर्नु पर्दछ ।
औद्योगिक कोरिडोरमा विद्युत् आपूर्तिको समस्याबारे उद्यागीहरुले वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई पनि जानकारी गराएका छन् । संघका उपाध्यक्ष माधव राजपालले यसबारेमा पटक पटक प्राधिकरणको ध्यानाकर्षण गराए पनि सुधार नभएको बताए ।
ऊर्जा अभावलाई कारण देखाएर प्राधिकरणले गत बैशाख दोस्रो साता उद्योगमा विद्युत् बन्द गरेपछि कोरिडोरका उद्योगको उत्पादन करीब १ हप्ता बन्द भएको थियो । त्यसयता कोरिडोरमा विद्युत्को नियमित आपूर्ति नभएको उद्योगीहरुले बताएका छन् ।अहिले विद्युत आपूर्ति भएका उद्योगहरु पनि न्यून गुणस्तरको मारमा परेका छन् । यस्ता उद्योगले अहिले अघोषित लोडशेडिङ र ट्रिपिङको समस्यामा खेपिरहेका छन् ।
विद्युत प्राधिकरणले विना सूचना घण्टौं विद्युत् आपूर्ति बन्द गर्दै आएको छ । दिनहुँ ८÷१० पटकको ट्रिपिङले उद्योगको कच्चा पदार्थ खेर जाने, उपकरण बिग्रिने र गुणस्तरमा समस्या देखिएको भन्दै उद्योगग वाणिज्य संघले केहि दिन पहिले मात्रै विज्ञप्ति निकालेर नियमित र गुणस्तरीय विद्युतको माग गरेको थियो ।तर बारम्बार आग्रह गर्दा पनि प्राधिकरणले सेवामा सुधार नल्याएको भन्दै उद्योगीहरु आक्रोशित भएका हुन् ।उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ‘आग्रह र अनुरोधको सुनुवाई भएन , अब प्राधिकरण विरुद्ध आन्दोलनमै जानुपर्ने स्थिति बनिसकेको छ ।
विद्युत आपुर्ति नियमित नहुदा फलाम, कपडा, औषधी र भट्टीमा आधारित उद्योेगहरू सबै भन्दा बढी प्रभावित भएका छन् । वीरगन्ज–परवानीपुर प्रसारण लाइनको क्षमता कमजोर भएकाले विद्युतको माग बढी भएका बेला बढी ट्रिपिङ हुने गरेको प्राधिकरणले बताउँदै आएको छ ।
प्राधिकरणको वीरगन्ज वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले भने ६६ केभी प्रसारणको आपूर्तिमा समस्या आएको स्वीकार गरे । प्राधिकरणको भारप्रेषण केन्द्रबाट यसबारेमा बुझ्ने प्रयास भइरहेको पनि उनले बताए । साभार : अभियान
The post विधुत आपुर्तिको समस्याले वीरगन्जका उद्योगीहरु आजित , प्राधिकरण विरुद्ध आन्दोलनको तयारी appeared first on Madhes Khabar.
प्रतिक्रिया