काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही वैशाख १५ गतेको निर्णयले उहाँहरू डिएसपीमा पदोन्नति हुनुभएको थियो । महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना दिनुभएको छ । उहाँले सङ्गठनमा रहेर उहाँहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कन स्वरूप पदोन्नति प्राप्त भएको बताउनुभयो ।
दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्य सम्पादनमा जुट्न निर्देशन दिँदै केसीले कमाण्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सही मार्ग निर्देशन दिनुपर्नेमा जोड दिनुभयो । महानिरीक्षक केसीले पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमान्दारीपूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध हुन पनि निर्देशन दिनुभयो ।
प्रतिक्रिया