वीरगन्ज ,३जेष्ठ : वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत १६ जना छात्राहरुलाई वडा कार्यालयले कम्प्युटर वितरण गरेको छ ।
लालपर्सास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा १६ जना छात्राहरुलाई जनही एक एक थान गरि १६ थान डेस्कटप कम्प्युटर वितरण गरिएको वडाध्यक्ष मनोजकुमार यादवले बताए ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई कम्प्युटर सेट प्रदान गरे ।
आफ्नो चुनावी घोषणापत्रमा गरिएको वाचा अनुसार आफ्नाे वडामा एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको वडाध्यक्ष यादवले बताए ।उनले भने, ‘महानगरपालिका भए पनि मेरो वडा ग्रामीण भेगमा पर्छ, कतिपय छात्रा एसईई उत्तीर्ण गरेपछि पठनपाठनलाई अगाडि बढाउँदैनन् , तीनै छात्राहरूलाई अध्ययनप्रति प्रोत्साहन गर्ने उद्देश्यले एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गरिरहेका १६ जना छात्रालाई कम्प्युटर प्रदान गरेका छौँ ।’
उनले यसपालि एसईई परीक्षामा सहभागी भएका छात्राहरुलाई पनि असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको बताए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भए पनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए ।
आफ्नो कार्यकालभर एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत छात्रालाई कम्प्युटर वितरण गर्ने उनले बताए । ‘सरकारी विद्यालयको खस्किँदै गइरहेको शैक्षिक अवस्थालाई सुधार गर्ने योजना अनुसार काम थालिएको छ,’ उनले भने, ‘वडामा रहेका ३ वटा सामुदायिक विद्यालयलाई महानगरकै नमुना विद्यालय बनाउने उद्देश्य लिएका छौँ ।’
वडाध्यक्ष यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पुर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी , जिल्ला समन्वय समिति पर्साका पुर्व प्रमुख नेक महम्मद , जसपाका नगर अध्यक्ष ईश्वरचन्द्र यादव , समाजवादी युवा संघका केन्द्रीय सचिव सराेज यादव लगायतकाे पनि उपस्थिति थियाे ।
The post वीरगन्जमा एसईई उत्तीर्ण छात्राहरुलाई कम्प्युटर वितरण appeared first on Madhes Khabar.
प्रतिक्रिया