मधेसखबर
बारा,४बैशाखः जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सिके राउत देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् ।बारा २ को प्रतिनिधीसभा सदस्यका लागि सत्तागठबन्धनका साभझा उम्मेदवार समेत रहेका यादवले सिके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित पात्र भएको आरोप लगाएका हुन् ।
सोमबार बारा २ को महागढीमाइ नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलो कार्यक्रममा सन्चारकर्मीसंग कुरा गर्दै यादवले भने,‘ सिके राउत को हो ? कहाँबाट परिचालित छन् ? के का लागि परिचालित छन् ? भन्ने कुरा रहस्यमयी छ , यस बारे धेरै कुरा खोज्नुपर्छ ।
देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राउतले राजनीतिक यात्रा शुरु गरेको भन्दै यादवले अहिलेपनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती र देशद्रोही नै भएको टिप्पणी गरे ।
मधेसलाई नेपालबाट टुक्राउने नारा छाडेर मूलधारको राजनीतिमा सिके राउत आइसकेका छन् नि त भन्ने प्रश्नमा यादवले भने,‘ सिके राउत अहिले पनि राष्ट्रघाती र देशद्रोही नै हुन् , किनकि उनको व्यवहार र गतिविधी अहिले पनि हिजोको जस्तैछ ।
बारा २ को निर्वाचन जित्न जसपाले जातीवादको नारा उचालिरहेको भन्ने विपक्षी दलहरुको आरोपको उनले खण्डन गरे । उनले भने,‘ सिद्धान्तहिन, विचारहिन, आदर्शहिन र चरित्रहिन तथा अपराधिक मनोवृति भएकाहरुले मधेसमा जातीवादको विष घोलेर समाजलाई कमजोर बनाएर फेरि मधेसीलाई गुलाम बनाउने षडयन्त्र गरिरहेका छन् ।
बारा २ मा उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने जनमत पार्टीका उम्मेदवार शीवचन्द्र कुशवाहाको आरोपको खण्डन गर्दै यादवले भने,‘ आफनै देशको नागरिक आफनै देशमा बाहिरिया हुन्छ कि अमेरीकन नागरिक (सिके राउत) ले लिएर आएका उम्मेदवार बाहिरिया हुन्छ ? यसको जवाफ बैशाख १० मा बारा २ का जनताले दिनेछन् ।
बारा २ को जनताले देखाएको समर्थन र मायाले आफनो जित सुनिश्चित भइसकेको दाबी गर्दै यादवले भने,‘ मतान्तर अझ धेरै बढाउनका लागि हामी जनताको घरदैलोमा पुगिरहेका छौ ।
मधेसका दलितले पाएका अधिकार मधेस आन्दोलनकै उपलब्धी भएको उनले बताए । यादवले भने,‘ दलितहरुले अझै धेरै अधिकार पाउन बाँकी छ , शिक्षा , स्वास्थ्य , रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाइ राज्यले सम्बोधन गर्नैपर्छ ।
सोमबारको घरदैलो कार्यक्रममा यादवसंगै नेपाली कांग्रेसका सहमहामन्त्री एंव पूर्वमन्त्री उमाकान्त चौधरी , कांग्रेस केन्द्रिय सदस्य अजय चौरसिया , कांग्रेसका जिल्ला सभापति राजेशराय यादव , महागढी नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतका नेताको पनि सहभागीता थियो ।
The post सिके राउत को हुन् ? कहाँबाट परिचालित छन् ? यो खोज्नु पर्छ : उपेन्द्र यादव appeared first on Madhes Khabar.
प्रतिक्रिया