बारा,१० बैशाख :बारा क्षेत्र नं. २ मा आइतवार भएको उपनिर्वाचनमा मंसिर ४ मा खसेको भन्दा बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उपनिर्वाचनमा ६५.०५ प्रतिशत मत खसेको छ ।
यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले आइतबार मंसिर ४ काे भन्दा २.०५ प्रतिशत मत बढी खसेको जानकारी दिए ।
जिल्लाको ६ वटा स्थानीय तहको ४४ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका थिए । उक्त मतदाताबाट ६५.०५ प्रतिशत मत खसेको र शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन् । उपाध्यायले निर्वाचन क्षेत्रको कुनै पनि स्थानमा विवाद नभएको बताए ।
उपाध्यायले विवादरहित ढंगले निर्वाचन सम्पन्न भएको बताएपनि केही मतदान केन्द्रमा भने विवादको स्थिती देखिएको थियो । देवताल गाँउपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रमा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता रामसागर यादव पक्राउ पर्दा केही समय मतदान रोकिन पुगेको थियो ।
यादवले मत खसाल्ने क्रममा खल्तीबाट अर्को मतपत्र झिक्दै मतपेटिकामा खसाल्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । उनलाई नियन्त्रणमा लिएलगत्तै जसपाका नेताकार्यकर्ताले विरोध जनाएका थिए । सो क्रममा केही समय विवादको स्थिती भएको थियो ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा लगेको थियो । निर्वाचन सम्पन्न भएपछि यादवलाई रिहा गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
मतदानको क्रममा निर्वाचन क्षेत्रबाट अन्य तीन जना समेत पक्राउ परेका थिए । मतदान आचारसंहिता विपरित गतिविधि गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरु समेत रिहा भएका छन् ।
निर्वाचन क्षेत्रको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रको केही मतदान केन्द्रमा विवाद भएको थियो ।
यस्तै महागढीमाई नगरपालिका वडा नम्बर २ को इन्र्वास्थित मतदान केन्द्रमा भने मतदान अधिकृतले नै सन्चारकर्मीलाई मतदान केन्द्र परिसरमा प्रवेश गर्न रोक लगाएका थिए । त्यहि क्रममा त्यहा रहेका जसपाका नेता कार्यताहरुले सन्चारकर्मीहरुलाई हुलहुज्जत गरि दुव्र्यवहार गर्दा प्रहरीले उद्धार गरेको थियो ।
गठबन्धनले सत्ताकाे दुरुपयाेग गर्याे :सिके राउत
बारा २ मा आइतबार भएको मतदानका क्रममा सत्तागठबन्धन दलले सत्ताको दुरुपयोग गरेको भन्दै जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले आरोप लगाएका छन् । विभिन्न मतदान केन्द्रमा अनुगमनका क्रममा आफु पुग्दा प्रहरीले समेत आफु र आफना पार्टीका कार्यकर्तालाई दमन गरेको उनले बताए ।
जसपाका नेता कार्यकर्ताले केहि मतदान स्थलमा जनमत पार्टीका प्रतिनिधीलाई बस्नै नदिएको र बुथ कब्जा समेत गरेको उनको आरोप छ । आफुलाई समेत प्रहरीले ठाँउ ठाँउमा घेरा हालेर मतदानस्थल र मतदान केन्द्र सम्म अनुगमनका लागि पुग्न नदिएको राउतले बताए । यसबारे सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगलाई पटक पटक जानकारी गराउदा पनि उनिहरुले चासो नलिएको गुनासो उनको थियो ।
यस्तै बारा २ का एमाले उम्मदवार पुरुषोत्तम पौडेलले पनि सत्ताधारी दलहरुले सत्ताको दुरुपयोग गरेको आरोप लगाए । मतदानस्थलहरुमा अनुगमनका क्रममा पुगेका बेला सन्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै पौडेलले सत्ता गठबन्धनका दलहरुले प्रहरी प्रशासनको मिलोमतोमा बुथ कब्जा गर्न खोजेको बताए । त्यसको प्रतिवाद गर्दा उल्टै प्रहरीले आफुलाई जबरजस्ति गरि मतदानस्थलबाट धपाएको उनले बताए ।
The post बारा २ मा मंसिरको भन्दा बढि मतदान , गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप appeared first on Madhes Khabar.
प्रतिक्रिया