वीरगन्ज,२८ चैत : विद्यार्थीहरुको शूल्क उठाउन माग गर्दै वीरगन्जका विभिन्न संस्थागत विद्यालयका शिक्षकहरुले मंगलबार महानगरमा ज्ञापन पत्र बुझाएका छन् ।
वीरगन्जस्थित ज्ञानदा एकेडेमी, गौतम मावि, जिएचपी मावि र एञ्जल इन्टरनेशनल सेकेण्डरी स्कुलका शिक्षकहरुले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै बाँकी रहेको शूल्क उठाइदिन माग गरेका हुन् ।
भर्खरै सम्पन्न अन्तिम परीक्षाको बेला पनि वीरगन्ज महानगरकै निर्देशनमा शूल्क नबुझाउने विद्यार्थीलाई पनि परीक्षाबाट बञ्चित नगराइएको हुँदा बाँकी शूल्क महानगरले नै पहल गरेर उठाइदिनुपर्ने शिक्षकहरुको माग छ ।
दुई महिनादेखिको तलबसमेत नपाएको दुखेसो पोख्दै शिक्षकहरुले तलब माग्दा अभिभावकले नै शूल्क नदिएको व्यवस्थापन पक्षले प्रतिक्रिया दिएको हुँदा महानगरलाई गुहार्न बाध्य भएको शिक्षकहरुको भनाई छ ।
अधिकांश अभिभावकले शूल्क नबुझाएको र बुझाउनेलाई पनि केही अभिभावकले रोक्दा आफुहरुले पारिश्रमिक पाउन नसकेको उनीहरुको दुखेसो छ । संस्थागत विद्यालयको आम्दानीको मूल स्रोत नै शूल्क भएको हुँदा अभिभावकले नबुझाएपछि त्यसको प्रत्यक्ष प्रभाव शिक्षकहरुलाई परेको उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
विद्यालयबाट पटकपटक अनुरोध गर्दा पनि शूल्क बुझाउन आलटाल हुँदै आएको हुँदा शिक्षक कर्मचारीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन विद्यालय असमर्थ रहेकोले बक्यौता शूल्क बुझाउनका लागि सहयोग र आवश्यक समन्वय गरिदिन ज्ञापन पत्रमार्फत उनीहरुले महानगरका मेयर सिंहलाई अनुरोध गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै मेयर सिंहले ज्ञानको ज्योती दिने शिक्षकहरु नै समस्यामा परेपछि शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने बताए ।
विद्यालयलाई तिर्नुपर्ने शूल्कका सम्बन्धमा सबै विद्यालयका व्यवस्थापन समिति र अभिभावकसँग छलफल गरेर समस्या सुल्झाउने सिंहले आश्वासन दिए । शिक्षाको सवालमा आफु गम्भिर रहेको बताउँदै उनले शिक्षकहरुको समस्यालाई गम्भिर रुपमा लिएको बताए ।
The post तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे appeared first on Madhes Khabar.
प्रतिक्रिया