वीरगन्ज,१२ चैत : गाइको मासुको पनि परिकार बेच्ने विज्ञापन गरेको वीरगन्जको लोहारपट्टी रोडमा अवस्थित चिकन स्टेशन नामक रेष्टुरेण्ट विरुद्ध आइतबार प्रदर्शन गरिएको छ ।
दुइ दिन पहिले उक्त रेष्टुरेष्टले आफनो आधिकारीक फेसबुक पेजमा बिफ कबाब (गाइको मासुबाट बनाइएको परिकार) मा १० प्रतिशत छुटको अफर रहेको विज्ञापन पोष्ट गरेको थियो । तर त्यसको चौतर्फी विरोध भएपछि रेष्टुरेन्ट सन्चालकले उक्त विज्ञापन फेसबुकबाट हटाएका थिए । उनले भूलवस त्यसो हुन गएको भन्दै सार्वजनिक रुपमै माफी समेत मागि सकेका छन् ।
आइतबार वीरगन्जका युवाहरुले चिकेन स्टेशन नामक रेस्टुरेन्टलाई बायकट ( वहिष्कार ) गर्ने अभियान अन्र्तगत विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनिहरुले चिकन स्टेशनविरुद्ध नाराबाजी पनि गरेका थिए ।
यसका साथै वीरगन्जका युवाहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि हिन्दू धर्ममा देउता मानिएको र नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईको मासु अर्थात बिफ कबाब बिक्री गर्ने विज्ञापन राख्ने चिकेन स्टेशनका सञ्चालकलाई कानूनी कारवाही गर्न र उक्त रेस्टुरेण्टलाई बहिष्कार गर्न अपिल गर्दै अभियान नै चलाएका छन् ।
वीरगन्जका युवाहरुले उक्त रेस्टुरेण्टको हिन्दु विरोधी यो हर्कतलाई हिन्दू धर्ममाथि कै प्रहार भएको संज्ञा पनि दिएका छन् । ‘हामीले आमा सम्मान दर्जा दिएको गौ माताको मासू विक्री गर्ने रेस्टुराँले भूलवस भनेर पन्छिन पाउँदैन’, सामाजिक सञ्जालमा स्थानीय युवा अमीत सर्राफले लेखेका छन्, ‘यो हाम्रो धर्ममाथि प्रहार हो । यसलाई सामान्य त्रुटी भनेर छोड्न मिल्दैन । रेस्टुराँको सञ्चालकहरुमाथि कडा कारवाही हुनुपर्छ । सबैले मिलेर चिकेन स्टेशनलाई बायकट गरौँ ।’
‘एउटै किचेनमा कुखुराको मासु र त्यहीँ किचेनमा गाइको मासु ?’ भन्दै सञ्चारकर्मी राजन रौनियारले पनि फेसबुकमा पोष्ट गर्दै प्रश्न गरेका छन्, ‘आज देखि चिकेन स्टेसनलाई मैले बहिस्कार गरेँ । चिकेन स्टेशन त्यहि भाडालाई प्रयोग गरि अन्य कुन–कुन पकवान बनाइ हिन्दूहरुलाई खुवाउने होला ?’
यता पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सामाजिक सन्जालमा त्यस किसिमको विज्ञापन आएलगत्तै प्रहरीले उक्त रेष्टुरेण्टमा पुगेर खानतलाशी गर्दा गाईको मासु वा त्यसबाट बनाइएका कुनै पनि परिकार नभेटिएको बताएका थिए । सन्चालकले भुलवस ‘बीफ कबाब’ को विज्ञापन राखेको हुन सक्ने उनको भनाई छ ।
The post ‘बीफ कबाब’को विज्ञापन गर्ने चिकेन स्टेशन विरुद्ध युवाहरुको प्रदर्शन appeared first on Madhes Khabar.
प्रतिक्रिया