काठमाडौं ,१३ माघ :निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो ।
निर्वाचन आयोगका एक पदाधिकारीले सर्वोच्चको फैसला आइसकेपछि आयोगले सरकारसँग परामर्श गरेर कानुनबमोजिम उपनिर्वाचन गर्ने बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ ।
चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै हाल उनी नेपाली नागरिक नरहेको ठहर गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर छोटो समयमै निर्वाचन लडेका लामिछानेले चितवन–२ मा नेपाली कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।साभार:कान्तिपुर
The post रवि सांसदबाट पदमुक्त भएपछि अब चितवन-२ मा उपनिर्वाचन हुने appeared first on Madhes Khabar.
प्रतिक्रिया