वीरगन्ज १७ मंसिर: नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
डम्फ्रिजले दायाँतर्फबाट दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका मेम्फिस डिपाएले उत्कृष्ट फिनिसिङ गर्दै डच टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले पनि डम्फ्रिजकै पासमा उत्कृष्ट गोल गरे। नेदरल्यान्ड्सले पहिलो हाफमा गरेका दुवै गोल करिब उस्तै थिए।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा ७६औं मिनेटमा हाजी राइटले गरेको गोलसँगै अमेरिकाले स्कोरलाइन २–१ मा घटाएको थियो। तर, त्यसको पाँच मिनेट नबित्दै डम्फ्रिजले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे।
चार वर्षअघि रुसमा भएको विश्वकपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स २०१४ मा ब्राजिलमा तेस्रो भएको थियो। यस्तै, सन् २०१० मा दक्षिण अफ्रिकामा फाइनलमा स्पेनसँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।
नेदरल्यान्ड्सले अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिना र अस्ट्रेलियाको विजेतासँग खेल्ने छ। अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल पनि आज राति नै हुदैछ।
The post विश्वकप फुटबल :अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा appeared first on Madhes Khabar.
प्रतिक्रिया