वीरगन्ज ,१८ मंसिर : पर्साको ग्रामीण भेगमा सडकको विकास भएसँगै धानको पराल बिक्री गर्न पाउँदा किसानहरू खुशी भएका छन् ।
ग्रामीण भेगमा हुलाकी सडक अन्तर्गत पोखरिया–लङ्गडी–भिस्वा सडक, वीरगंज–ठोरी सडकखण्ड, जनता सडक, थरुहट सडकखण्डको निर्माणसँगै कृषि उत्पादन देशका अन्य भागसम्म पुग्न थालेका छन् ।
यसअघि यस भेगका किसानले धानको पराल, गहुँको छवाली, रबीबालीका भुस त्यतिकै जलाएर नष्ट गर्ने गरेका थिए । तर अहिले यी सबै पदार्थ बिक्री हुन थालेका छन् । धोबिनी गाउँपालिका–३ हरिहरपुरका किसान रामजनमप्रसाद कुर्मीका अनुसार व्यापारीहरूले खेतबाट पराल खरीद गरी लैजाने गरेका छन् । विगतमा वस्तुभाव बढी भएकाले तिनीहरूको लागि राख्ने र बढी भएको पराललाई खेतमैं जलाएर नष्ट गर्ने गरेको उनले बताए । तर अहिले सो पराल बिक्री गरेर आम्दानी भइरहेको किसान कुर्मीले खुशी व्यक्त गरे ।
जगरनाथपुर गापा–६ का किसान गुलाबप्रसाद यादवले पराल बेचेर खासै धेरै आम्दानी नभए पनि गहँुबालीको लागि खेत जोताइ र रासायनिक मलको खर्च टार्न सकिने बताए । व्यापारीहरूले ज्यामी लगाएर पराल ओसार्ने भएकाले बिक्री गर्न सहज भएको यादवले बताए । तर यसरी बिक्री गर्दा दाम राम्रो नलाग्ने गरेको यादवको भनाइ छ । हार्भेस्टर मेशिनबाट कटानी गरेको धानको पराल आफैंले जम्मा गर्दा महँगोमा पराल बिक्री हुने गरेको यादव बताउँछन् ।
जीराभवानी गापा–२ सेढवाका किसान प्रदीप दास थारूले व्यापारीहरूले यस भेगका किसानहरूलाई ठग्ने गरेको आरोप लगाए । उनले परालको मात्रा धेरै भएका व्यापारीहरूले सर्वसाधारण किसानहरूलाई ठग्ने गरेको उनको बुझाइ छ । खेत, घर, खलियानमा पुगेर पराल खरीद गर्नेहरूले किसानसँग सस्तोमा खरीद गरेर व्यापारीलाई बढीमा बिक्री गर्दै आएका छन् । परालको मूल्य सस्तो भएको कारण कतिपय किसानहरूले अहिले पराल बिक्री नगरी भण्डार गरेर राखेका र उचित मूल्यमा बिक्री गर्ने सोच बनाएको थारूले बताए ।
जीराभवानी गापा–२ वसन्तपुरका उपेन्द्र यादवले आफैंले ज्यामी लगाइ पराल खरीद गरी ठोरी क्षेत्रका वस्तुभाउ पालेका किसानलाई बिक्री गर्दै आएको बताए ।
जीतपुरसिमरा उपमहानगरपालिका– १० निवासी व्यापारी महेश मण्डलले चितवन, काठमाडौंसम्म माग भए अनुसार पराल, छवाली तथा रबीबालीको भुस खरीद गरी पुरयाउने गरेको बताए । परालको चाङ हेरेर किसानहरूले मूल्य तोक्ने र सो अनुसार तोलमोल गरी खरीद गर्ने गरेको व्यापारी मण्डलले बताए । यी पराल तथा भुसलाई शहरमा खोलिएका गाईभैंसी फर्ममा पनि बिक्री गर्ने गरेको उनले बताए ।साभार:प्रतिक
The post पराल बिक्री गर्न पाउँदा पर्साका किसानहरु खुशी appeared first on Madhes Khabar.
प्रतिक्रिया