वीरगन्ज,०९ कार्तिक : आईसीसी टी–२० विश्वकप क्रिकेटमा फेरि अप्रत्यासित नतीजा आएको छ । विश्वकप अन्तर्गत सुपर १२ को खेलमा बुधबार आयरल्यान्डले इङ्ग्ल्यान्डलाई अप्रत्याशीत रुपमा हराएको छ ।
अष्ट्रेलियाको मेलबर्नमा भएको खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा पाँच रनले विजयी भएको हो ।आयरल्यान्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर १ सय पाँच रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । खेल फेरि सुरु हुन नसकेपछि आयरल्यान्ड डकवर्थ लुइस नियमको आधारमा ५ रनले विजयी भएको हो ।
इङ्ग्ल्यान्डका लागि डेविड मलानले ३५ र मोइन अलीले नटआउट २४ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जोशुआ लिटिलले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५७ रन बनायो । उसका एन्ड्रियु बालबर्नीले ६२ र लोरकन टकरले ३४ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क वुड र लायम लिभिङस्टोनले तीन÷तीन विकेट लिए ।
प्रतियोगितामा यो आयरल्यान्डको पहिलो जित हो भने इङ्ग्ल्यान्डको पहिलो हार हो । यो जितसँगै आइरल्यान्ड दुई अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । इङ्ग्ल्यान्ड भने तेस्रो स्थानमा झरेको छ । यी दुवै टोली समूह ’ए’ मा छन् ।
The post टी–२० विश्वकपमा अप्रत्यासित नतीजा : आयरल्याण्डसंग इंल्याण्ड पराजित appeared first on Madhes Khabar.
प्रतिक्रिया