मधेसखबर
वीरगन्ज , २८ असोज : पर्सा क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन पर्सा क्षेत्र नम्बर २(ख)का अगुवा तथा युवाहरुले अभियान नै सुरु गरेका छन् ।
स्वतन्त्र उम्मेद्वारी दिएका सिंहको पक्षमा मतदान गर्न आग्रह गर्दै ‘हरघर जाऔँ, रुपेशमानलाई जिताऔँ’ अभियान उनिहरुले सुरु गरेका हुन् ।
सिंहको पक्षमा मत माग्दै घरघर पुग्ने अभियानमा युवा तथा अग्रजहरु स्वस्फूर्त लागेको वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का मनोज चौधरीले बताए ।
अभियानमा निर्वाचन क्षेत्रमा पर्ने १० वटा वीरगन्ज महानगरपालिकाका वडा र बहुदरमाई नगरपालिकाको वडा नम्बर २ गरी ११ वटा वडाका युवा, महिला, बुद्धिजिवी, अग्रज खटिएका छन् ।
यस्तै शुक्रबार स्वतन्त्र उम्मेद्वार सिंहको चुनावी प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना भएको छ । वीरगन्ज ३ छपकैयाँको आदर्शटोलमा स्थापना गरिएको सम्पर्क कार्यालयको उम्मेद्वार सिंहले उद्घाटन गरेका छन् ।
कार्यालय स्थापना गर्दै सिंहले दलहरुलाई पटक पटक हेरिसकिएको भन्दै यस पटक स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन आग्रह गरे ।
उनले भने, ‘अब घरघरमा विभिन्न प्रलोभन दिँदै नेताहरु आउँछन्, तपाईहरुले विचार पुर्याएर तपाईहरुको साथमा सँधै उभिने, गर्न सक्ने मान्छेलाई मत दिएर विजयी बनाउनुहोला । होइन भने फेरि पछि पछुताउन बाहेक अरु विकल्प रहँदैन ।’
आफ्नो क्षेत्रको उन्नती र विकासका लागि ठूलो लक्ष्य लिएर हिँडेको भन्दै उनले त्यो लक्ष्यलाई पूरा गर्न सबैको साथको आवश्यकता रहेको बताए ।
कार्यक्रममा वडा नम्बर २४ की लक्ष्मी देवी चौरसियाले रुपेशमान सिंहको विकल्प अरु हुनै नसक्ने भन्दै सिंहलाई जिताउन गाउँगाउँबाट सबैलाई जोड्न पहल गर्ने बताइन् ।
कार्यक्रममा प्रदेश २(ख) मा पर्ने ११ वटै वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
The post स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताउने अभियानमा युवासंगै अग्रजहरु पनि appeared first on Madhes Khabar.
प्रतिक्रिया