मधेसखबर
वीरगन्ज,२९जेठ : कृषि पेशामा भित्रिएका नयाँ नयाँ प्रविधीका यान्त्रिकरणले खेतीपातीमा किसानहरुको लागत घट्न थालेको छ । जसका कारण परम्परागत खेती गर्ने विधी बदलेर किसानले विभिन्न किसिमका उपकरण र मेशीनको प्रयोग गरेर खेती गर्न थालेका छन् ।
बाराको जितपुर–सिमरा उपमहानगरपालिका ११ खेस्रौलका किसान रमेश चौधरीले ४ वर्षयता प्रिसिजन मेज प्लान्टरबाट मकै खेती गर्न थालेका छन् । २ बिघा खेतमा मकै लगाएका उनले परम्परागत खेतीभन्दा यो मेसिनको मद्दतले मकै खेती गर्दा खेती लागत करिब ४६ प्रतिशतले घटेको अनुभव सुनाए ।
‘मलाई त यो उपकरणले मकै खेती गर्दा धेरै फाइदा भयो,’ उनले भने, ‘खेतमा मकैबाली लगाउन मजदुर नपाउने चिन्ता रहेन, खेती लागत झन्डै आधाले घट्यो, उत्पादन पनि १० देखि १२ प्रतिशतले बढ्यो ।’ रमेशका छिमेकी परमानन्द चौधरीले पनि ४ वर्षदेखि यही उपकरणको मद्दतले मकैखेती गर्दै आएका छन् । उनको अनुभव पनि रमेशकै जस्तो छ । उनी भन्छन्,‘यही उपकरणले ५ बिघा खेतमा मकै बाली लगाएको छुँ,मकै मेरो लागि उखुजस्तै नगदेबाली बनेको छ ।’
खेस्रौलका किसानले करिब १५ हेक्टर जग्गामा ४ पांग्रे ट्याक्टरबाट चल्ने तीन लाइनको मकै लगाउने मेसिन (प्रि–सिजन मेज प्लान्टर) बाट मकै खेती गरेका छन् । उनीहरूलाई यो मेसिनबाट खेती कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले सघाएको छ । हाल केन्द्रकै उपकरण लगेर यहाँका किसानले मकैबाली लगाइरहेका छन् ।
केन्द्रले चीनमा निर्मित यो उपकरणबाट ३ बर्ष आफ्नै परिसरमा परीक्षण बाली लगाएर किसानलाई सिफारिस गरेको हो । केन्द्र प्रमुख वरिष्ठ इन्जिनियर सचिनकुमार मिश्राका अनुसार, २ लाख ५० हजार रुपैयाँ लागत पर्ने यो उपकरण किसानले व्यक्तिगत वा सामूहिक रूपमा पनि सहजै खरिद गर्न सक्छन् ।
तीन लाइनमा गहुँको बीउ छर्न सकिने र मल समेत बीउसँगै खसाल्न सकिने यो उपकरण ट्याक्टरमा जोडेर २ मजदुरले चलाउन सक्छन् । सामान्यतया लाइनदेखि लाइनको दूरी ६० सेमि हुने गरेकामा मेसिनबाट यो दूरी थपघट पनि गर्न सकिन्छ । त्यसैगरी, बोटदेखि बोटको दूरी २५ सेमि हुने र ५ वटा विभिन्न दूरीमा बीउ खसाल्न सकिन्छ ।
यस मेसिनमा बीउसँग मल पनि एकै पटक प्रयोग गर्ने सुविधा रहेको हुनाले समय र श्रमको बचत गर्न सकिन्छ । भर्टिकल प्लेट टाइप मिटारिङ मेकानिजम भएकोले बीउ टुक्रिने समस्या पनि नरहेको मिश्राले बताए । खनजोत गरेको र नगरेको दुवै खेतमा यो मेसिनबाट मकै लगाउन सकिन्छ । मकै लगाउने पारम्परिक तरिकाभन्दा कम समय, ऊर्जा, श्रम तथा खर्चमा बढी जग्गामा मकै लगाउन सकिने उनले बताए । अन्य प्लान्टरको तुलनामा यो मेसिन चलाउन पनि सजिलो हुन्छ । मेसिनमा खाडल गहिराइ, मल गहिराइ र रोपाइँको गहिराइ नियन्त्रण गर्ने सुविधा पनि उपलब्ध छ ।
उच्च गुणस्तरको मकै उत्पादन हुने साथै कुल उत्पादकत्व बढ्न जान्छ । यस मेसिनको कार्यक्षमता ०.३ हेक्टर प्रतिघण्टा छ । यो मेसिन तराई तथा भित्री मधेसको समथर क्षेत्रमा प्रयोग गर्न सकिन्छ । कार्यालय तथा किसानको खेतमा समेत गरिएको परीक्षण उत्पादनमा ३५२२ हाइब्रिड जातको गहुँ प्रतिहेक्टर ९ देखि १० टनसम्म उत्पादन भएको मिश्रा बताउँछन् । परम्परागत विधिले मकै खेती गर्दा प्रतिहेक्टर उत्पादन ७ देखि साढे टन मात्र हुने गरेकामा यो उपकरणको मद्दतले मकै खेती गर्दा उत्पादन झन्डै १२ प्रतिशतले बढन गएको उनले बताए । मजदुरको अभाव र जलवायु परिवर्तनले बालीनालीको उत्पादन घट्दो क्रममा रहेको समयमा यन्त्रीकरणले किसानलाई बढी लाभ भइरहेको मिश्राले दाबी गरे ।
यो उपकरण धेरै महँगोसमेत नभएकाले हाल आर्थिक रूपले बलिया रहेका स्थानीय तहले किसानलाई प्रोत्साहित गर्न समूहमा यस्ता उपकरण खरिदका लागि सामूहिक अनुदान दिने हो भने धेरै किसानको पहुँचमा यो उपकरण पुग्ने उनले दाबी गरे ।साभारः कान्तिपुर
The post यान्त्रिकरणले खेतीपातीमा लागत घटाउदै, किसानहरु खुशी appeared first on Madhes Khabar.
प्रतिक्रिया