क्रान्ति शाह
वीरगन्ज,३०जेठः वीरगन्जको बजारमा मानव स्वास्थ्यका लागि हानी गर्ने विषादी कार्बाइट प्रयोग गरेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ ।
बगैंचामा फलेका आँप असारको तेस्रो साता पछि मात्रै पाक्न सुरु भइ खान योग्य हुने भएपनि , वीरगन्जको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका आँप छ्याप छ्याप्ती बिक्री वितरण भइरहेको हो । वीरगन्जका साथै पोखरीया , बाराको कलैया , जितपुर , सीमराका बजारहरुमा समेत कर्वाइट हालेर पकाइएका आँप बिक्री वितरण भइरहेको हो ।
यो सिजनको शुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका वीरगन्जका व्यपारीहरुले दुइ साता यता भने पुर्वका जिल्लाबाट पनि काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइट हालेर पकाएर बजारमा बिक्री गरिररहेका हुन् । व्यापारीहरूले प्रतिकेजी ४०÷५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइट प्रयोग गरेर १ सय देखिख १ सय ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेका छन् ।
वीरगन्ज तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष विदर गुप्ताले सिजनको शुरुमा वीरगन्ज र यस आसपासाका बजारहरुमा भारतको गोवा , मद्रास , केरला , आन्ध्र प्रदेशबाट आपको आयात हुने गरेको बताए । असार पहिलो साता पछि भने तराइका पुर्वका जिल्लामा फलेका आप वीरगन्जको बजारमा आउने गरेको गुप्ताले बताए ।
कृषि ज्ञान केन्द्र पर्साको बागवानी शाखाका प्राविधीक श्याम किशोर कुर्मीका अनुसार , भारतबाट चैत देखि नै आँप ल्याएर बिक्री गर्ने क्रम सुरु भइसक्छ । कुर्मीले नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य हुने गरेको बताउनुभयो । अहिले बजारमा पाइने आँप , छिटो पकाउन कर्वाइट विषाधि प्रयोग गर्ने गरिएकाले ती आप नखाँदा नै उपयुक्त हुने सुझाव उनको छ ।
विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए ।
प्र्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइट प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ ।खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजार देखि २५ हजार रुपैया सम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर व्यपारीहरुले कार्बाइट विषादी राखेर पकाएका आप खुलेआम रुपमा बिक्री गरिरहदा पनि स्थानीय प्रशासन भने मौन बसेको छ ।
The post वीरगन्जमा विषादी हालेर पकाइएका आँप बिक्री, स्थानीय प्रशासन मुकदर्शक appeared first on Madhes Khabar.
प्रतिक्रिया