
मधेसखबर
वीरगन्ज,१५असार : लोक मान्यता अनुसार असार १५ मा धान रोपाइ सकाएर खुशीयालीमा किसानले दहि चिउरा खाने प्रचलन छ । असार १५ का दिन देशभर धान दिवस पनि मनाइन्छ छ । तर यो वर्ष मध्य असार सकिदा अर्थात असार १५ गते भइ सक्दा पनि पर्सामा धान रोपाइ नहुदा ८० प्रतिशत खेत बाँझै रहेको छ ।
सिंचाइ र मलको अभावका कारण पर्सामा असार १५ गते सम्म २० प्रतिशत मात्र रोपाइ भएको र ८० प्रतिशत खेत बाँझै रहेको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताए ।
उनका अनुसार ,बुधबार असार १५ मा धान दिवसको अवसरमा केन्द्रले पनि पर्साको पर्सागढी नपा ३ बिरुवागुठी स्थित एक किसानको खेतमा धान रोपाइ कार्यक्रम गरेर औपचारिक रुपमा धान दिवस मनाएको छ ।तर जिल्लाभरमा बुधबार सम्म २० प्रतिशत मात्र रोपाइ हुन सकेको उनले बताए । जिल्लाको उत्तरी भेगमा १५ प्रतिशत र दक्षिणी भेगमा भने ५ प्रतिशत मात्रै रोपाइ हुन सकेको उनले जानकारी दिए ।
केन्द्रका अनुसार , पर्सा जिल्लामा ४७ हजार १ सय ३० हेक्टर जग्गामा धानको खेती हुने गरेको छ । त्यो मध्ये चैतेधानको खेती ३ हजार ५० हेक्टर र बाँकी ४४ हजार ८० हेक्टरमा अगहनी (मंसिरे ) धानको खेती हुने गरेको केन्द्र प्रमुख मुनिलालले बताए ।
पर्सामा आकाशे पानी र गण्डक नहरको पानीको भरमा किसानले धानखेती गर्र्दै आएका छन् । तर यसपाली वर्षा पनि समयमा नभएको र गण्डक नहरमा पनि नहरको दुइ वटा पुल मर्मत जारी रहेका कारण सिंचाइको अभावले किसानले धान रोपाइ समयमै गर्न नपाएका हुन् ।
दुइ दिन यता वर्षा भइरहेको भएपनि ब्याडमा बेर्ना तयार भइ नसकेका कारण धानको रोपाइ चाहे जति हुन नसकेको उनले बताए ।मुनिलालले भने ,‘ एक त समयमा पानी नै परेन , जसका कारण किसानले समयमा बीउ ब्याडमा राख्न पाएनन् , अहिले दुइ दिन यता वर्षा भएपनि बेर्ना नै तयार भइसकेको छैन ।रासायनिक मलको अभाव हुदा पनि किसानले समयमा ब्याडमा धानको बीउ राख्न नपाएको उनले बताए ।
समयमा धान रोपाइ हुन नसक्नुको अर्को प्रमुख कारण गण्डक नहरमा यसपाली समयमा पानी नआउनु पनि रहेको केन्द्रका प्राविधिक सुरेश प्रसाद चौरसीयाले बताए ।
धन खेतीको सिजनका लागि भारतले नेपाल तर्फको नहरमा असार १५ भित्रैमा पानी छोडि सक्नु पर्ने नेपाल भारतको गण्डक सम्झौतामा उल्लेख छ । तर गण्डक नहरमा अहिले सम्म पानी नै आएको छैन ।नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सुबोध कुशवाहाका अनुसार, यसपाली भने गण्डक नहर अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा २ वटा ‘फुट ब्रिज’ निर्माणाधीन रहेको र तीन वटाको काम सम्पन्न भएकाले नहरमा नेपाल तर्फ पानी आउन ढिला हुने भएको हो ।
पुल निर्माणको काम सक्न अझै करिब एक साता लाग्ने भन्दै उनले असार २० गते पछि मात्रै गण्डक नहरमा पानी आउने सम्भावना रहेको बताए ।जिल्लाको दक्षिणी भेगका किसानले गण्डक नहरकै पानीको भरमा धानको खेती गर्दै आएका छन् ।
अहिले दुइ दिन यता वर्षा भइरहेको भएपनि सिंचाइ र मलखादको अभावले बेर्ना तयार भइ नसकेका कारण धानको रोपाइ शुरु गर्न नसकेको किसानहरु बताउछन् ।
पर्साको पकाहामैनपुर गाँउपालिका १ धोरेका किसान जोगी यादव भन्छन् ,‘ असार १५ भइ सक्यो तर रोपाइ एक चौथाइ पनि हुन सकेको छैन , अहिले पानी त परेको छ तर ब्याडमा बेर्ना नै तयार भएको छैन ।पानी र मल कुर्दा कुर्दै केहि उपाय नलागेपछि पम्पीसेटबाट पानी लगाएर जेठ मसान्त तिर मात्रै ब्याडमा बीउ राखेको तर उक्त बीउ अहिले सम्म रोपाइका लागि तयार नै नभएको यादवले बताए ।
यादवले भने ,‘ नहरमा पनि अहिले सम्म पानी आएको छैन , मलखादको त कुरै गर्नु बेकार छ , इण्डिया गएर तेब्बर भाउमा किनेर ल्याउदा पनि बोर्डरमा पुलिसले हैरान पार्छ ।
The post सरकारले धान दिवस मनाइ रहदा पर्सामा ८० प्रतिशत खेत बाँझै appeared first on Madhes Khabar.
प्रतिक्रिया