
मधेस खबर
वीरगन्ज,१८जेठ : स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय चुनावको छलफलमा लागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आउदो कात्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा छन् । यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार नगर्न सुझाव दिएका छन् ।
संसद्को चुनाव पाँच वर्षअघि मंसिरमा भएको थियो भने निर्वाचन आयोगले समानुपातिक सहितको अन्तिम परिणाम फागुनमा मात्र दिएको थियो । सांसदहरूले फागुन २० मा मात्र शपथ लिएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा कांग्रेसकै नेताहरू एकमत छैनन् । कतिपय नेताहरू फागुनमा मात्र चुनाव गराउनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भने यथासक्य छिटो गर्ने पक्षमा छन् ।
स्थानीय तह चुनावमा टिकट वितरणमा अन्याय भएको भन्दै काँग्रेसका स्थानीय नेताहरू आक्रोशित भएकाले तत्कालै चुनावमा गए अन्तर्घात हुने भन्दै कांग्रेस नेताहरू सजग छन् । ‘कुलिङ पिरियड’ राखेर फागुनमा चुनावमा जानु उपयुक्त हुने उनीहरूको सुझाव छ । कांग्रेस नेता पौडेलले पार्टीभित्रका केही नेताहरू फागुनमा मात्र चुनाव गराउन इच्छुक भए पनि औपचारिक बैठकमा कसैले त्यस्तो प्रस्ताव नराखेको बताए । गठबन्धन कात्तिक वा मंसिरमै चुनाव गराउन तयार रहेको तर यसमा प्रधानमन्त्रीकै भूमिका प्रमुख हुने नेता पौडेलले बताए ।
वर्तमान गठबन्धन भत्काउने र फेरि वाम गठबन्धन बनाउने विषयमा भित्रभित्रै छलफल सुरु भएको सूचना पाएकाले प्रधानमन्त्री देउवा छिटो चुनावको पक्षमा देखिएको कांग्रेसकै नेताहरूको भनाइ छ । कात्तिक÷मंसिरमा चुनाव गराउने कि फागुनमा भन्ने साँचो प्रधानमन्त्रीभन्दा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको हातमा रहेको कांग्रेस नेता मीनेन्द्र रिजालले बताएए । चुनावको मिति तोक्ने मात्रै होइन, गठबन्धनलाई कता लैजाने भनेर निर्णय गर्ने भूमिका अहिले दाहालसँग रहेको उनले बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय चुनावको मितिबारे साझेदार दलहरु बीच अनौपचारिक छलफल भएको बताए । चार महिनाअघि नै चुनावको मिति घोषणा गर्नुपर्छ भन्ने सन्दर्भमा छलफल भएको जानकारी उनले दिए । कात्तिक अन्तिम वा मंसिर पहिलो–दोस्रो साता चुनाव गरौं भन्ने कुरा भएको भएपनि ठ्याक्कै मितिको विषयमा अब केही दिनमा छलफल उनले बताए ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले चुनावको मितिबारे प्रारम्भिक छलफल भएको बताए ।
माओवादी नेता वर्षमान पुन मंसिरमा कि फागुनमा भन्ने चर्चा भइरहे पनि कुन मितिमा चुनाव गराउने भन्ने निर्णय हुन समय लाग्ने बताए ।
सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा माओवादी अध्यक्ष दाहालले कात्तिकमै पनि चुनाव गर्न सकिने धारणा राखेका थिए । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा चुनाव भएकै मितिमा कार्यकाल सकिने भएकाले कात्तिक अन्तिम वा मंसिर सुरुमा चुनाव गर्नुपर्ने दाहालको धारणा छ ।साभारःकान्तिपुर
The post कात्तिकमै संसदको चुनाव गराउने प्रधानमन्त्रीको प्रयास appeared first on Madhes Khabar.
प्रतिक्रिया