रुकुमपूर्व। रुकुमपूर्वमा वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ३५ वटा मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । तालिम बिहीबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माविको हलमा सञ्चालन भएको हो ।
तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । उहाँका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा सिकाइएको छ ।
साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो ।
निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ । तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत लवटसँगै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, भूमे गाउँपालिकाका निर्वाचन अधिकृत विमलप्रसाद बराल, पुथाउत्तरगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद चापागार्इँ, जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले गर्नुभएको थियो ।
तीनवटा गाउँपालिका रहेको यस जिल्लामा मतदाता सङ्ख्या ३३ हजार ५१८ रहेको छ । जसमा महिला १६ हजार ६२४ र पुरुष मतदाताको सङ्ख्या १६ हजार ८९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
प्रतिक्रिया