कर्णाली । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् ।
वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार १० आंशिक र दुई मत पूर्णरुपमा बदर भएका छन् ।
उहाँले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताउनुभयो । “आजको नमूना मतदानको परिणामले मतदाता शिक्षाको अभाव भएको देखाउँछ”, प्रदेश निर्वाचन अधिकारी चालिसेले भन्नुभयो, “अब यसमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई यसबारे सिकाउनुपर्दछ । अन्यथा मत बदर हुने बढी संभावना देखिन्छ ।”
स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्यौल भएर मत बदर हुन सक्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले बताउनुभयो । बदर मतको सङ्ख्या कम गराउन राजनीतिक दलहरुले मतदाता शिक्षाका विषयमा मतदातालाई बैलैमा जानकारी दिनुपर्ने उहाँको भनाइ छ ।
मतदाता शिक्षा कार्यक्रम नरहेपनि मत बदर हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्दे्रश्यले आज नमूना मतदान कार्यक्रम राखिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिनुभयो । सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया