मधेस खबर
वीरगन्ज, १४जेठ :लागू पदार्थ सेवन गरेको आरोप लागेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई अदालतबाट ‘क्लिन चिट’ मिलेको छ ।
भारतको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले अन्य १४ आरोपित विरुद्ध अदालतमा रिट दर्ता गर्दा अदालतले भने आर्यनलाई सफाइ दिएको हो ।गत वर्षको अक्टोबर २ मुम्बईबाट गोवा जाँदै गरेको समुद्री क्रुज सिपमा पार्टीका दौरान लागूऔषध सेवन गरेको आरोपमा आर्यनसहित १७ जनालाई एनसीबीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २३ वर्षीय आर्यनसँगै मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, अरबाज मर्चान्टलगायत थिए । उक्त समूहमा २ जना महिलासमेत थिए । तर, बुधबार ६ हजार पाना लामो मुद्दा दर्ता गर्ने क्रममा एनसीबीले १४ जनालाई मात्रै अभियुक्त दाबी गरेको छ ।
क्रुज सीपमा छापा मार्दा प्रहरीले कोकिन, चरेस, मेफेड्रोनजस्ता लागूऔषध बरामद गरेको बताएको थियो । पछि आर्यनको साथमा लागूऔषध नभेटिए पनि उनको ह्वाट्सएप च्याटअनुसार लागूऔषध तस्करीमा संलग्न भएको हुन सक्ने एनसीबीको आशंका थियो । ७ महिना लामो अनुसन्धानपछि एनसीबीले आर्यनको लागूऔषध सेवन र तस्करी दुवै कार्यमा संलग्न रहेको प्रमाण नभेटेको जनाएको छ ।
उसो त आर्यन यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । पक्राउ परेपछि एनसीबीले ११ अक्टोबरसम्म हिरासतमा राख्न अदालतसमक्ष माग गरेको थियो । त्यसलगत्तै आर्यनले धरौटीमा रिहाइको माग गर्दै मुम्बई उच्च अदालतमा निवेदन दिएका थिए । झन्डै १ महिनापछि मात्रै अदालतले विभिन्न १४ सर्त पालना गर्ने गरी आर्यनलाई धरौटीमा रिहा गरेको थियो । साभार : कान्तिपुर
The post लागूऔषध मुद्दामा आर्यन खानलाई ‘क्लिन चिट’ appeared first on Madhes Khabar.
प्रतिक्रिया