क्वालालाम्पुर, फिलिपिन्स। फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान् राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित हनुभएको छ ।
पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाउनुभएको थियो । दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उहाँहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी भएका छन् ।
राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाउनुभएको र त्यो सङ्ख्या मार्कोसको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा हुनुहुन्थ्यो । नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यस अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति र एक हजार २०० सिनेटरसहित ३०० भन्दा बढी संसदका प्रतिनिधि साथै एक हजार ७०० भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन् ।
मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।
पूर्व सिनेटर समेत रहनु भएका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नु हुनेछ । अहिलेका राष्ट्रपतिको छ बर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरु भएका छन् ।
फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिनुभएको थियो । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो ।सिन्ह्वा
प्रतिक्रिया